झ्यालमै यसरी अड्किएर कक्रिरहेको रहेछ, रुप्पी। समातेर रेस्क्यु गरिदिऊँन त भन्दा पनि ठाडै ठुङ्न खोज्दो रहेछ। लौ त, जसरी जालास् आफैँ जालास् भनेर छोडिदिएँ।
तर, सोचमग्न भएँ एकछिन।
साला यो गुड विल भन्ने चिज आफु हर्ट हुनु या नहुनु के चैँ हो!
हर्ट हुनु हो भने अरुलाई पनि हर्ट नै होला फेरि! या अरुलाई हर्ट भएर आफुलाई हर्ट हुँदो हो। गोलगोल घुमिरहने कुरो!
यति घोत्लेपछि रुप्पीको सात्तो जाने गरेर यौटा प्लास्टिकको ब्याग उठाएँ र तर्साएँ त्यसलाई त्यसले।
बस्। रुप्पी उड्यो। आत्तिएर उड्यो।
जसरी उडे पनि, जसरी उडाए पनि, सजिलो किसिमले भयो। रेस्क्यु।
चराको अनुभव?
सायद फरक होला। किनकि चराहरु मान्छे भन्दा धेरै ठुलो आकाशका हुन्छन्।
कसैको झ्यालमै अड्किनु, त्यसमाथि मान्छेको हुँङ्कारले सात्तै जानु, ज्यानको माया मारेर ज्यानलाई बचाउनु! २–४ मिनेट भित्रमा २–४ वटा प्रलय खेप्यो होला बिचराले।
त्यसको भलो होस्।
**