December 03, 2020

भर नहुने सहर


 

                           — हरीश अधिकारी

 

कुँडुलिएर

आफैँलाई खाइरहेको सर्पजस्तो

बनेको छु म सहर ।

 

हिजो

तमासले उचालिएर

धृतराष्ट्र धरहरा

धुलोपिठ्ठो हुँदा,

सडी-गलिरहेका गल्लीहरुमा

जेलिएका

बाङ्गाटेढा, अटसमटस घरहरु

बेतोडले बजारिँदा 

छत-छतमै, कोठा-कोठामै

रिँगटा छुट्ने गरी मनमुटु हल्लिएपछि

हराएको सातो खोज्दै...

गाउँ पसेँ ।

 

उति बेला पनि साथमा

पछ्याउदै आएका

करुण क्रन्दनहरु थिए ।

 

आज  

टाउकै माथि चडेर विज्ञानको

यो के अट्टहासले हल्लायो फेरि...

 

झल्झली सम्झाइदियो

 

बन्दी बनेको

बुद्ध-देशमा

भोकले नाघेका सिमानाहरु,

आगो बिहिन म सहर

आफैँ आगो भएर

जलाएका भोकका पुत्लाहरु...

 

सँधैका सास्तीहरु...

सम्झिएरै होला

भाग्दै-भाग्दै

गाउँकै शरणमा, बाआमाकै गोडामा

शिर थमाउँन आइपुगेको छु ।

 

मरेर आधीसरो !

 

कठै !

देश बाहिरका सहरहरुआफन्तजनहरु

कसरी बाँच्लान्

पूँजीवादको पक्षघाती पञ्जाबाट ?

लडेर व्याधिले

बेवारिसे लास हुनबाट ?

 

'सहर...

उहिले उँदी

त सङ्कटको निदानै पो हुन्थ्यो,' भन्नुहुन्छ

गाउँकै लयमा आमा

 

चिँढिनुहुन्छ

बत्तीको नखरामा,

 

भन्नुहुन्छ

'हुँदैन हौ... यो बिजुलीको भर !

यो पनि सहरबडै आउने न हो,

मूल साँचो यसको

तेतै त होला !'

 

आमाको मुखबाट यसरी

फुत्त फुत्किएको सत्यले

यो समय

सबै भन्दा बढी हल्लाएको छ

म सहरलाई ।

 

*******

 बैसाख २०७७

 

No comments:

Post a Comment

भर नहुने सहर

                              — हरीश अधिकारी   कुँडुलिएर आफैँलाई खाइरहेको सर्पजस्तो बनेको छु म सहर ।   हिजो तमासले उचालिएर...