बाली भित्र्याउने बखत
आकाशका ठेकेदारहरु
किन मरिरहेछन् यसरी
यो असिनानगरीमा !
— हरीश अधिकारी
कुँडुलिएर
आफैँलाई खाइरहेको सर्पजस्तो
बनेको छु म सहर ।
हिजो
तमासले उचालिएर
धृतराष्ट्र धरहरा
धुलोपिठ्ठो हुँदा,
सडी-गलिरहेका गल्लीहरुमा
जेलिएका
बाङ्गाटेढा, अटसमटस घरहरु
बेतोडले बजारिँदा
छत-छतमै, कोठा-कोठामै
रिँगटा छुट्ने गरी मनमुटु हल्लिएपछि
हराएको सातो खोज्दै...
गाउँ पसेँ ।
उति बेला पनि साथमा
पछ्याउदै आएका
करुण क्रन्दनहरु थिए ।
आज
टाउकै माथि चडेर विज्ञानको
यो के अट्टहासले हल्लायो फेरि...
झल्झली सम्झाइदियो—
बन्दी बनेको
बुद्ध-देशमा
भोकले नाघेका सिमानाहरु,
आगो बिहिन म सहर
आफैँ आगो भएर
जलाएका भोकका पुत्लाहरु...
सँधैका सास्तीहरु...
सम्झिएरै होला
भाग्दै-भाग्दै
गाउँकै शरणमा, बाआमाकै गोडामा
शिर थमाउँन आइपुगेको छु ।
मरेर आधीसरो !
कठै !
देश बाहिरका सहरहरु—आफन्तजनहरु
कसरी बाँच्लान्
पूँजीवादको पक्षघाती पञ्जाबाट ?
लडेर व्याधिले
बेवारिसे लास हुनबाट ?
'सहर...
उहिले उँदी
त सङ्कटको निदानै पो हुन्थ्यो,'
भन्नुहुन्छ
गाउँकै लयमा आमा
चिँढिनुहुन्छ
बत्तीको नखरामा,
भन्नुहुन्छ—
'हुँदैन हौ... यो बिजुलीको भर !
यो पनि सहरबडै आउने न हो,
मूल साँचो यसको
तेतै त होला !'
आमाको मुखबाट यसरी
फुत्त फुत्किएको सत्यले
यो समय
सबै भन्दा बढी हल्लाएको छ
म सहरलाई ।
*******
झ्यालमै यसरी अड्किएर कक्रिरहेको रहेछ, रुप्पी। समातेर रेस्क्यु गरिदिऊँन त भन्दा पनि ठाडै ठुङ्न खोज्दो रहेछ। लौ त, जसरी जालास् आफैँ जालास् भनेर छोडिदिएँ।
तर, सोचमग्न भएँ एकछिन।
साला यो गुड विल भन्ने चिज आफु हर्ट हुनु या नहुनु के चैँ हो!
हर्ट हुनु हो भने अरुलाई पनि हर्ट नै होला फेरि! या अरुलाई हर्ट भएर आफुलाई हर्ट हुँदो हो। गोलगोल घुमिरहने कुरो!
यति घोत्लेपछि रुप्पीको सात्तो जाने गरेर यौटा प्लास्टिकको ब्याग उठाएँ र तर्साएँ त्यसलाई त्यसले।
बस्। रुप्पी उड्यो। आत्तिएर उड्यो।
जसरी उडे पनि, जसरी उडाए पनि, सजिलो किसिमले भयो। रेस्क्यु।
चराको अनुभव?
सायद फरक होला। किनकि चराहरु मान्छे भन्दा धेरै ठुलो आकाशका हुन्छन्।
कसैको झ्यालमै अड्किनु, त्यसमाथि मान्छेको हुँङ्कारले सात्तै जानु, ज्यानको माया मारेर ज्यानलाई बचाउनु! २–४ मिनेट भित्रमा २–४ वटा प्रलय खेप्यो होला बिचराले।
त्यसको भलो होस्।
**
बाली भित्र्याउने बखत आकाशका ठेकेदारहरु किन मरिरहेछन् यसरी यो असिनानगरीमा !