July 07, 2017

मृत्युको बाडी ...


एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

बज्र परिरहेछ गड्याङ्गुडुङ्
आकाश काल जस्तै छ कालो 

मनमा मृत्युको बाडी
पसिरहेछ त्यो नदी हुँदै

जहाँ चिच्याइरहेछन्,
डुबिरहेछन्, तैरिरहेछन् मान्छेहरु

आँसुको भेल पनि आखिर
छ रमितैसरी यो संसारमा— यो संसारको रीत !

गुणा र घटाउमा बिलाइजाने !
उखेले पनि, नउखेले पनि जरा

क-कसको हात कति ?
भोग्ने कति, छिन्ने कति, रमिता हेर्ने कति ?

एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

March 11, 2017

केही हाइकु


टिल्-पिल् टिल्-पिल्
आँखैभरि छ फेवा—
बन्न नसकेको नदी ।


*******


पट्पटी फुटेको
दाइँपछिको खलो
जोत्नु छ अब ।


*******


मान्छेले नै जन्माको
संकृतिले खान्छ
मान्छेलाई ।


*******


घरि यो, घरि त्यो
के- के सोचिरहन्छ
फट्याङ्ग्रो दिमाग !

May 22, 2014

गीत

रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

झस्की कति, कति चोटी कोल्टे फेरिरहेँ
तिम्रै बाइँ बजे जस्तो झन् झन् सुनिरहेँ
वतासको पछि- पछि कोठाभित्र जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

परैबाट सुसाउँदै बाटो बिराएर
खेदिरह्यो गण्डकीले निदलाई भिरैभिर
बार्दलीका झुत्तैभरि कुटु कुटु घुन
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

March 21, 2014

Introduction to Flowing with a River by Dr. Ammaraj Joshi

 Flowing with a River: Musings on Life and Society