March 07, 2018

गीत

झरेका पात झरिनै गए आँधीको धारले;
छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।

फर्कनै फेरि नसक्ने गरी नजाऊ बिलाई;
बाटोको हिउँ पग्लेर जान्छ, बाधानै बिलाई !

बनाई हेर हिँडेर बाटो, तिम्रै हो संसार !
फुलाई हेर रोपेर फूल, सुगन्धी बहार !

झरेका पात झरिनै गए आँधीको धारले;
छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।

हारेर आफैँ जितिन्न कैल्यै निठुरी संसार
रणमा मनको जितेर हेर, जितिन्छ संसार ।

लाछियो जहाँ रुखको हाँगो, पलाऊ त्यैँ फेरि;
बाँचेर हेर वसन्त नयाँ, उठाई शिर फेरि !

झरेका पात झरिनै गए आँधीको धारले;
छेकेर कैल्यै छेकिन्न मुना हिउँदको बारले ।


( जनवरी २०१८ मा के. यु. स्कुल अफ फार्मेसीमा अध्ययनरत एक छात्राले आत्महत्या गरेपछि कोरेको सानु टुक्रा । लाछिएर, भाँचिएर, किचिएर, थिचिएर पनि उठ्न खोज्छ बिस्तारै वसन्तको टुसा । त्यस्तै टुसातिर एक पटक फर्किएर हेरिहेर्दा फरक पो हुन्छ कि संसार ? ) 

February 14, 2018

खाली कुर्सी र डोब

उठेर गएपछि,
वा पुरानिएपछि—च्यातिएपछि—थन्किएपछि,
कुर्सीले मान्छे
नबोकिरहेको भएपनि
बोकिरहेको भान दिने रहेछ

सम्झाइदिने रहेछ
उठिजानेहरुको वजन, तिनको
कर्म र स्वभाव, आवाज र अनुहार,
त्यसमा बसेको
सानै डोबले पनि

विस्तारित गरिदिने रहेछ
विरेचन हुँदै-हुँदै
पर-परसम्म
झोलुङ्गे पुल बनाउने रहेछ,
अनुपस्थितिले उपस्थितिसम्म।

February 01, 2018

Writing in English, Poetry, Poetics, and Criticism

This is a conversation originally published in The Applicant in 2012. It was republished in Kathmandu Tribune in 2018. Here I talk about 'Writing in English, Poetry, Poetics, and Criticism'. Here is the link: Interview in Kathmandu Tribune

July 07, 2017

मृत्युको बाडी ...


एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

बज्र परिरहेछ गड्याङ्गुडुङ्
आकाश काल जस्तै छ कालो 

मनमा मृत्युको बाडी
पसिरहेछ त्यो नदी हुँदै

जहाँ चिच्याइरहेछन्,
डुबिरहेछन्, तैरिरहेछन् मान्छेहरु

आँसुको भेल पनि आखिर
छ रमितैसरी यो संसारमा— यो संसारको रीत !

गुणा र घटाउमा बिलाइजाने !
उखेले पनि, नउखेले पनि जरा

क-कसको हात कति ?
भोग्ने कति, छिन्ने कति, रमिता हेर्ने कति ?

एक दिन मरी जानु छ साथी
जति नै भए पनि मान्छे माथि !

March 11, 2017

केही हाइकु


टिल्-पिल् टिल्-पिल्
आँखैभरि छ फेवा—
बन्न नसकेको नदी ।


*******


पट्पटी फुटेको
दाइँपछिको खलो
जोत्नु छ अब ।


*******


मान्छेले नै जन्माको
संकृतिले खान्छ
मान्छेलाई ।


*******


घरि यो, घरि त्यो
के- के सोचिरहन्छ
फट्याङ्ग्रो दिमाग !

May 22, 2014

गीत

रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

झस्की कति, कति चोटी कोल्टे फेरिरहेँ
तिम्रै बाइँ बजे जस्तो झन् झन् सुनिरहेँ
वतासको पछि- पछि कोठाभित्र जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

परैबाट सुसाउँदै बाटो बिराएर
खेदिरह्यो गण्डकीले निदलाई भिरैभिर
बार्दलीका झुत्तैभरि कुटु कुटु घुन
आइरह्यो तिम्रो याद दिलको दैलो छुन
रातैभरि लागिरह्यो टहटह जून
आइरह्यो तिम्रो याद दिलको दैलो छुन ...

March 21, 2014

Introduction to Flowing with a River by Dr. Ammaraj Joshi

 Flowing with a River: Musings on Life and Society